काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ ले मधेश र लुम्बिनी प्रदेशका सांसदहरूसँग सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल गरेका छन्।
शनिबार गृह मन्त्रालयमा भएको उक्त छलफलमा सीमा क्षेत्रको सुरक्षा सुदृढीकरण र भन्सार प्रणाली सुधारका विषयमा गम्भीर बहस भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ।
छलफलका क्रममा सांसदहरूले सीमामा हुने तस्करी नियन्त्रणका लागि विद्यमान भन्सार प्रणालीमा व्यापक सुधार, भन्सार दर पुनरावलोकन तथा प्रभावकारी निगरानी संयन्त्र विकास गर्नुपर्नेमा जोड दिएका थिए।
त्यस्तै, सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक उपभोग्य सामग्री आयातमा निश्चित सीमा भित्र भन्सार छुट दिनुपर्ने र त्यसका लागि स्पष्ट मापदण्ड बनाउनुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।



















