शुक्रबार, बैशाख ११, २०८३
देशभर २०औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौँ । नेपालमा आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइँदैछ। विसं २०६२/६३ को जनआन्दोलनले ल्याएको ऐतिहासिक परिवर्तनको स्मरणमा प्रत्येक वर्ष वैशाख ११ गते यो दिवस मनाउने गरिन्छ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलहरूको मार्गचित्रअनुसार २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए। सोही दिनको ऐतिहासिक उपलब्धिको स्मरणमा विसं २०६४ देखि लोकतन्त्र दिवस मनाउन थालिएको हो।

त्यसअघि राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते शासन सत्ता आफ्नो हातमा लिएपछि मुलुकमा राजनीतिक संकट उत्पन्न भएको थियो। यसलाई समाधान गर्न सात दल र तत्कालीन नेकपा (माओवादी) बीच १२ बुँदे समझदारी भएको थियो, जसले आन्दोलनलाई थप सशक्त बनाएको थियो।

२०६२ फागुनदेखि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलन वैशाखसम्म पुग्दा देशव्यापी बनेको थियो। चक्रपथमा उर्लिएको जनसागरका कारण राजा ज्ञानेन्द्र आन्दोलनरत दलहरूको मागअनुसार संसद् पुनर्स्थापनाको घोषणा गर्न बाध्य भएका थिए।

संसद् पुनर्स्थापनापछि २०६३ जेठ ४ गतेको बैठकले राजसंस्थाको अधिकार कटौती गर्दै शान्ति प्रक्रिया र संविधानसभा निर्वाचनको मार्ग प्रशस्त गरेको थियो, जसलाई ‘नेपाली म्याग्नाकार्टा’का रूपमा समेत चिनिन्छ।

यसै आन्दोलनको आधारमा २०६४ मा पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो र २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको अन्त्य गरेको थियो। त्यसपछि २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई अहिले तीनै तहका सरकारमार्फत शासन सञ्चालन भइरहेको छ।

यसरी वैशाख ११ गतेलाई नेपाली राजनीतिक इतिहासमा लोकतान्त्रिक परिवर्तनको प्रवेशद्वारका रूपमा विशेष अर्थका साथ स्मरण गरिन्छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय