काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।
बैठकमा सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र अन्तिम टुंगो लगाउने तयारी गरिएको छ। गत फागुनमा सम्पन्न निर्वाचनपछि सांसदहरूले सपथ लिएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि कांग्रेसले अझै संसदीय दलको नेता चयन गर्न सकेको छैन।
प्रतिनिधिसभामा ३८ सांसद रहेको कांग्रेसमा अर्जुन नरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य दल नेताका प्रमुख दाबेदारका रूपमा छन्। नेताहरूका अनुसार आङ्देम्बेको नाममा सहमति जुट्ने सम्भावना बलियो रहेको छ, जसलाई उपसभापति विश्वप्रकाश शर्मा तथा देउवा–कोइराला समूहको पनि समर्थन रहेको बताइएको छ।
गत शुक्रबार मतदानमार्फत नेता चयन गर्ने तयारी भए पनि सहमतिका लागि प्रक्रिया स्थगित गरिएको थियो। त्यसपछि बसेको कार्यसम्पादन समितिको बैठकले सहमतिको आधारमा नेता चयन गर्न उपसभापति शर्माको नेतृत्वमा समन्वय समिति गठन गरेको थियो।
उपसभापति शर्माले आज उक्त प्रतिवेदन सभापति गगन थापालाई बुझाउने कार्यक्रम छ।
यसैबीच, कार्यसम्पादन समितिको बैठकपछि दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ, जहाँ दलको नेता चयन गरिने कार्यसूची रहेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले जानकारी दिएका छन्। साथै, आजै दिउँसो २ बजे केन्द्रीय अनुशासन समितिको बैठक समेत बस्नेछ।



















