काभ्रे । गत शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग तीन दिनपछि पुनः सञ्चालनमा आएको छ। रोशी खोलामा आएको बाढीले विभिन्न स्थानका डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको थियो।
सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार क्षतिग्रस्त डाइभर्सन मर्मत गरी आज सोमबार साढे ३ बजेदेखि सवारी आवागमन सुचारु गरिएको हो। सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको सहकार्यमा मर्मत कार्य सम्पन्न गरिएको उनले बताए।
बाढीका कारण चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँशी, बुलढुंगा, माम्तीसहित सिन्धुलीतर्फ आँपघारी र नेपालथोकका डाइभर्सनमा क्षति पुगेको थियो।
हाल अस्थायी रूपमा रोशी खोलाको किनार हुँदै डाइभर्सन निर्माण गरी सवारी सञ्चालन गरिएको छ। थप जानकारीका लागि नेपाल प्रहरी (१००) र ट्राफिक प्रहरी (१०३) मा सम्पर्क गर्न अनुरोध गरिएको छ।



















