काठमाडौँ । शैक्षिकसत्र २०८३ आजदेखि औपचारिक रूपमा सुरु भएको छ भने पठनपाठन वैशाख २१ गतेदेखि सञ्चालन हुने तयारी गरिएको छ।
सरकारको निर्णयअनुसार वैशाख १५ गतेदेखि विद्यालय भर्ना र २१ गतेदेखि कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले जानकारी दिए।
उनका अनुसार “आजदेखि शैक्षिकसत्र सुरु भएको छ, विद्यार्थी भर्ना गर्न अनुरोध गर्दछौं, पठनपाठन भने २१ गतेबाट हुन्छ।”
यसअघि वैशाख २ गतेदेखि भर्ना प्रक्रिया सुरु हुने परम्परा रहे पनि पेट्रोलियम पदार्थ आपूर्तिको असहजतालाई कारण देखाउँदै शैक्षिकसत्र सारिएको थियो। यद्यपि केही स्थानीय तहहरूले भने पहिले नै विद्यालय सञ्चालन गरिरहेका छन्।
शैक्षिक सत्र सुरु भइसकेकाले विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउन पनि सरकारले निर्देशन दिएको छ। देशभर करिब ७० लाख बालबालिका विद्यालय तहमा अध्ययनरत रहेको अनुमान गरिएको छ।



















