काठमाडौं । नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ।
केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा यसबारे विस्तृत छलफल गरिएको हो। संगठन विभाग, नेकपा एमाले ले प्रस्तुत गरेको प्रणालीसम्बन्धी छलफलमा उपाध्यक्ष, महासचिव, प्रदेशस्तरीय नेताहरू तथा जनसंगठनका प्रतिनिधिहरू सहभागी थिए।
छलफलपछि अनलाइन प्रणालीमार्फत सदस्यता नवीकरण, नयाँ सदस्यता प्रवेश तथा सम्पूर्ण अभिलेख व्यवस्थापनलाई डिजिटल बनाउने प्रस्ताव अघि सारिएको छ।
संगठन विभागका अनुसार अब एमालेको सम्पूर्ण सदस्यता प्रक्रिया अनलाइनमार्फत मात्र सञ्चालन गरिनेछ। यसलाई सातै प्रदेश, ७७ जिल्ला र ७५३ वटै पालिकामा एकैसाथ लागू गर्ने तयारी गरिएको छ।
त्यसैगरी, प्रत्येक पालिकामा भौतिक रूपमा पनि सदस्यता सहजीकरण गर्ने व्यवस्था मिलाइनेछ। पार्टीका गतिविधिसँग जोडेर सदस्यता नवीकरण गर्ने प्रणाली पनि लागू गरिनेछ।
अनलाइन प्रणालीमार्फत केन्द्रीय समितिदेखि वडा तहसम्मका नेताहरूको बायोडाटा सङ्कलन तथा अभिलेखीकरण गरिनेछ।
संगठन विभागका अनुसार तोकिएको समयभित्र सदस्यता नवीकरण नगर्ने सदस्यहरू स्वतः सम्बन्धित पार्टी जिम्मेवारीबाट मुक्त हुने व्यवस्था लागू गरिनेछ।



















