काठमाडौँ । स्मार्टफोनमा प्रयोग हुने र्यामको मूल्य बढ्दै जाँदा मोबाइल फोनको मूल्यसमेत बढ्ने आकलन भइरहेका बेला Apple ले भने आफ्ना आगामी मोडेलहरूमा यसको प्रत्यक्ष असर पर्न नदिने रणनीति अपनाउने संकेत दिएको छ।
विश्लेषक Jeff Pu को पछिल्लो प्रतिवेदन अनुसार कम्पनीले ‘iPhone 18 Pro’ र ‘iPhone 18 Pro Max’ का लागि आक्रामक मूल्य निर्धारण नीति अपनाउने तयारी गरिरहेको छ। यद्यपि, उनले ठ्याक्कै मूल्य सार्वजनिक नगरे पनि बजारमा यसबारे विभिन्न अड्कलबाजी सुरु भइसकेका छन्।
अर्का विश्लेषक Ming-Chi Kuo का अनुसार यी दुवै प्रो मोडेलको सुरुवाती मूल्य अघिल्लो पुस्ताका ‘iPhone 17 Pro’ र ‘iPhone 17 Pro Max’ कै हाराहारीमा रहने सम्भावना छ। यसअनुसार अमेरिकी बजारमा iPhone 18 Pro को सुरुवाती मूल्य करिब १,०९९ डलर र Pro Max को १,१९९ डलर रहने अनुमान गरिएको छ।
तर, आधारभूत (बेस) मोडेलबाहेक उच्च स्टोरेज क्षमता भएका अन्य भेरियन्टहरूको मूल्य भने बढ्न सक्ने संकेत गरिएको छ। र्यामको लागत बढेकाले कम्पनीले महँगा भेरियन्टमार्फत त्यो खर्च समायोजन गर्ने रणनीति लिन सक्ने विश्लेषण गरिएको छ।
यो मूल्य रणनीति अन्तर्राष्ट्रिय बजारमा कसरी लागू हुन्छ भन्ने विषय भने अझै स्पष्ट भइसकेको छैन। एप्पलले आधार मूल्य स्थिर राखेर ग्राहकलाई मूल्य वृद्धि नभएको सन्देश दिन खोजेको देखिन्छ।
कम्पनीको यो रणनीति कत्तिको सफल हुन्छ र बजारमा चलेका अनुमानहरू कत्तिको यथार्थमा परिणत हुन्छन् भन्ने कुरा भने आगामी दिनमा मात्र स्पष्ट हुनेछ।



















