काठमाडौँ । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ।
जनमतले आफ्नो समर्थन फिर्ताको औपचारिक पत्र सोमबार प्रदेश प्रमुखको कार्यालयमा बुझाएको हो। प्रदेश सभामा १२ सदस्य रहेको जनमत पार्टी हाल सरकारमा सहभागी हुँदै अर्थ तथा खेलकुद एवं समाज कल्याण मन्त्रालय सम्हाल्दै आएको थियो।
जनमतबाट महेश यादव अर्थमन्त्री र बसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्री छन्।
नयाँ राजनीतिक समीकरणअनुसार नेपाली कांग्रेस र नेकपाबाहेक एमाले, जसपा, जनमत र लोसपा सम्मिलित सरकार बन्ने तयारी भइरहेको बताइएको छ। १०७ सदस्यीय प्रदेश सभामा हाल १०० सांसद रहेका छन्। एमालेका २४, जसपाका १८, जनमतका १२ र लोसपाका ८ सांसदसहित ६२ जना नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन्।



















