काठमाडौँ । काठमाडौँस्थित राधास्वामी सत्संग व्यास आश्रममा रहेका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थालेका छन्।
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले अभिभावक र बालबालिकासँग परामर्श गरेर उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि वडा नं. १४ को जनकल्याण माध्यमिक विद्यालयमा भर्ना गराउने व्यवस्था मिलाएको हो। उक्त विद्यालय आश्रमबाट पैदल दूरीमै रहेको छ।
नदी किनारका अव्यवस्थित बस्ती हटाउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगललगायत स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना हाल आश्रममा बसोबास गर्दै आएका छन्। तीमध्ये ५२ बालबालिका विद्यालय उमेरका रहेका छन्।
यसैबीच, चार जना बालबालिकाले यस वर्ष एसईई दिएका छन् भने अन्यले कम्प्युटर, सिलाइ–बुनाइजस्ता सिपमूलक तालिममा रुचि देखाएका छन्। महानगरपालिकाले उनीहरूका लागि आवश्यक सिपमूलक तालिमको व्यवस्था गर्ने तयारी गरेको शिक्षा अधिकारी नमराज ढकालले जानकारी दिए।



















