मंगलबार, बैशाख २२, २०८३
विद्यार्थीको रुचिअनुसार शिक्षा दिनुपर्छ: मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

रुपन्देहीको सिद्धार्थनगर–२ स्थित बहिरा बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा सम्बोधन गर्दै उनले शिक्षालाई विद्यार्थीको चाहना, क्षमता र भविष्यसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए।

उनले अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजको दृष्टिकोण परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै यस्ता विद्यार्थीलाई आत्मनिर्भर र उद्यमशील बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको बताए।

मुख्यमन्त्री आचार्यले फरक क्षमता भएका नागरिकका लागि राज्यले अवसर सृजना गरिरहेको उल्लेख गर्दै उनीहरूको पठनपाठन र सीप विकासबारे नजिकबाट बुझ्न पाउँदा खुसी लागेको बताए।

विसं २०३२ देखि सञ्चालनमा रहेको उक्त विद्यालयले सुनाइसम्बन्धी समस्या भएका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयले नेपालसहित भारतका विद्यार्थीलाई समेत समेट्दै समावेशी शिक्षा प्रदान गर्दै आएको र आवासीय सुविधा, पूर्वप्राथमिकदेखि कक्षा १२ सम्मको अध्ययन तथा सीपमूलक तालिममार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने प्रयास गरिरहेको जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय