काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीश पदमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनलाई आगामी प्रधानन्यायाधीशका रूपमा प्रस्ताव गरेको हो ।
वरिष्ठता क्रम मिचेर चौथो वरियतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको यो पहिलो घटना भएको बताइएको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा शर्मा नेपालका ३३ औँ प्रधानन्यायाधीश बन्नेछन् ।
६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीश बनेका शर्मा ६ वर्षे कार्यकालका लागि प्रधानन्यायाधीश बन्ने सम्भावना छ । ६ वर्षे कार्यकाल पूरा भएमा उनी २०८९ वैशाखसम्म पदमा रहनेछन् ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई पछि पार्दै शर्मालाई सिफारिस गरिएको हो ।
२०२७ साल असार ४ मा पर्सामा जन्मिएका शर्माले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक, भारतको पुणे विश्वविद्यालयबाट स्नातकोत्तर र श्रम कानूनमा विद्यावारिधि गरेका छन् । उनी पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा समेत कार्यरत रहिसकेका थिए ।



















