काभ्रे । गत २१ वैशाख रातिको अविरल वर्षापछि आएको बाढीका कारण बीपी राजमार्ग अन्तर्गत रोशी–७ लास्कोट र घुमाउने खोलाबीच फसेका यात्रुको उद्धार गर्ने सशस्त्र प्रहरीलाई नगदसहित सम्मान गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १५ गण हेडक्वाटर काभ्रेपलाञ्चोकको २४औँ वार्षिकोत्सवका अवसरमा रोशी खोलामा फसेका पाँच माइक्रोबसका ८९ यात्रुलाई जोखिम मोलेर उद्धार गर्ने टोलीका सदस्यहरूलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा सहायक निरीक्षक भरत न्यौपाने, हबलदार श्रीकृष्ण कार्की, बुद्धि खड्का, सहायक हबलदार किरण कुँवर र अशोकजंग दनुवार रहेका छन् ।
उनीहरूलाई उद्धार कार्यमा देखाएको साहस, व्यावसायिकता र उत्कृष्ट कार्यसम्पादनका लागि सम्मान गरिएको हो । साथै पाँचखाल चौकी इन्चार्ज प्रशान्त तामाङ र इलाका प्रहरी कार्यालय देवीटारका इन्चार्ज इन्द्रबहादुर राउत पनि सम्मानित भएका छन् ।
उक्त उद्धार कार्य सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीको नेतृत्वमा गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले संगठनको भूमिका, विपद् व्यवस्थापन र नागरिक सुरक्षामा योगदानबारे चर्चा गर्दै अनुशासन र जनसेवामा थप सक्रिय हुनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे भने रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले सुरक्षा निकाय र स्थानीय तहबीचको सहकार्यले नागरिकलाई प्रत्यक्ष लाभ पुगेको बताए ।



















