मंगलबार, बैशाख २९, २०८३
द्वन्द्व पीडित महिलाका लागि काभ्रेमा एक महिने निःशुल्क बारिष्टा तालिम

काभ्रे । द्वन्द्वबाट प्रभावित महिलाहरुलाई आत्मनिर्भर तथा स्वरोजगारमुखी बनाउने उद्देश्यले काभ्रेमा एक महिने निःशुल्क बारिष्टा तालिम सञ्चालन गरिएको छ ।

द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालको आयोजना, बागमती प्रदेश सरकार अन्तर्गत सामाजिक विकास कार्यालय धुलिखेल, काभ्रेको आर्थिक सहयोग तथा सुपरनोभा तालिम केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन भएको उक्त तालिम १६० घण्टाको रहनेछ ।

तालिममा ४० जना महिलाहरु सहभागी रहने आयोजकले जनाएको छ । एक महिनासम्म सञ्चालन हुने तालिममा सहभागीहरुलाई बारिष्टा सम्बन्धी व्यावसायिक सीप, कफी बनाउने कला, कफी मेसिन सञ्चालन, ग्राहक सेवा तथा आतिथ्यता सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिनेछ ।

कार्यक्रमकी सभापति उषा अर्यालले द्वन्द्व पीडित महिलाको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धिका लागि यस्ता सीपमूलक तालिम महत्वपूर्ण हुने बताइन् । प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य रुकु चौलागाईंले महिलालाई सीपसँग जोडेर आयआर्जनमा सक्षम बनाउने प्रदेश सरकारको नीति अनुरुप कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिन् ।

त्यसैगरी मोहन बहादुर गजुरेलले तालिमलाई प्रभावकारी रूपमा उपयोग गर्दै सहभागी महिलाहरुले भविष्यमा स्वरोजगार सिर्जना गर्न सक्ने विश्वास व्यक्त गरे ।

आयोजकका अनुसार तालिमपछि सहभागी महिलाहरुलाई व्यवसायिक क्षेत्रमा प्रवेश गर्न थप सहजीकरण गर्ने योजना समेत रहेको छ । उक्त कार्यक्रममा सामाजिक विकास कार्यालय धुलिखेल, काभ्रेका मन्जु कार्की र सरस्वती श्रेष्ठ, सुपरनोभा तालिम केन्द्रका प्रबन्धक राजकुमार सापकोटा र प्रशिक्षक नकुल धिताल लगाएतको उपस्थिति रहेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय