बिहिबार, बैशाख ३१, २०८३
प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कारबाही अघि बढ्न नदिने एमालेको चेतावनी

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गरेकी छन्।

नीति तथा कार्यक्रम सरकारको एक वर्षे मार्गदर्शक दस्ताबेज भएकाले यसको प्रस्तुतिकरण, छलफल र जवाफदेहिताको मुख्य जिम्मेवारी प्रधानमन्त्रीकै हुने उनले बताइन्। प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्रीलाई ‘वारेस’ तोकिएको विषयप्रति आपत्ति जनाउँदै अर्यालले प्रधानमन्त्री काठमाडौंमै रहेर अन्य गतिविधिमा सक्रिय हुँदा पनि संसदलाई समय नदिनु गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरिन्।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थापित कानुनी व्यवस्था र संसदीय परम्पराअनुसार नीति तथा कार्यक्रम टेबुल गर्ने, छलफल सुन्ने र सांसदका प्रश्नको जवाफ दिने दायित्व प्रधानमन्त्रीकै भएको उल्लेख गरिन्।

अर्यालले प्रधानमन्त्री संसदमा उपस्थित भई सांसदका प्रश्न सुन्ने र जवाफ दिने प्रतिबद्धता नआएसम्म एमालेले संसदको कारबाही अघि बढ्न नदिने अडान लिएको पनि स्पष्ट पारिन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय