काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनकै कारण कांग्रेस कमजोर बनेर ३८ सिटमा सीमित भएको बताएका छन्।
कांग्रेस कर्णाली प्रदेश समितिले सुर्खेतमा आयोजना गरेको ‘पार्टीको बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
खड्काले विशेष महाधिवेशन नभएको भए देशको राजनीतिक अवस्था फरक हुने दाबी गरे। उनका अनुसार त्यस अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बन्ने सम्भावना भए पनि दुई तिहाइ नजिक पुग्ने अवस्था नआउने थियो। उनले कांग्रेसले ६०–६५ सिट, एमालेले ३०–३५ र माओवादीले १५–२० सिट ल्याउने आकलन गरे।
उनले गगन थापाले सिंगो कांग्रेसको नेतृत्व गर्न नसकेको आरोप पनि लगाए। केही दिनअघि थापा र उपसभापति विश्वप्रकाश शर्मासँग भएको भेट स्मरण गर्दै खड्काले पार्टी विभाजनको डिलमा पुगेको भन्दै एकता जोगाउनुपर्ने सुझाव दिएको बताए।
‘पार्टी मिलाउने कि फुटाउने जिम्मा अब तपाईंहरूको काँधमा छ भनेको छु,’ उनले भने। अदालतको निर्णयपछि आफूहरूले थापालाई सभापति मानेको पनि उनले उल्लेख गरे।
गोष्ठीमा कांग्रेसबाट कर्णाली प्रदेशका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख–उपप्रमुख, मेयर–उपमेयर तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षको सहभागिता रहेको छ। कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ।



















