काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सगरमाथाको ३२औँ पटक सफल आरोहण गर्ने कामीरिता शेर्पा र ११औँ पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहले नेपाली आरोहीहरूको ऐतिहासिक सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान थप उज्यालो बनाउने विश्वास व्यक्त गरेका हुन् ।
कामीरिता शेर्पाले आज बिहान १०ः१२ बजे सगरमाथाको ३२औँ पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः कायम गरेका हुन् । प्रधानमन्त्री शाहले सगरमाथा नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको प्रतीक भएको उल्लेख गर्दै नेपाली आरोहीहरूले फेरि इतिहास रचेको बताएका छन् ।
त्यस्तै, ‘माउन्टेन क्विन’का रूपमा परिचित लाक्पा शेर्पाले आज बिहान ९ः३० बजे ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान बनाएकी छन् ।
प्रधानमन्त्री शाहले निरन्तर साहस, आत्मअनुशासन र कर्मप्रतिको समर्पणले मात्रै यस्तो सफलता सम्भव हुने उल्लेख गर्दै दुवै आरोहीलाई शुभकामना दिएका छन् । साथै, उनले नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण रहेको भन्दै हिमालयका “अदृश्य नायक” का रूपमा सम्मान व्यक्त गरेका छन् ।



















