मंगलबार, जेठ ०५, २०८३
कांग्रेस प्रतिष्ठानद्वारा १२ उपसमिति गठन, विभिन्न क्षेत्रमा जिम्मेवारी बाँडफाँट

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार तथा सामाजिक मुद्दामा काम गर्ने उद्देश्यसहित १२ वटा उपसमिति गठन गरेको छ ।

पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले सोमबार विभिन्न क्षेत्र समेटेर उपसमितिहरू गठन गरेका हुन् ।

भूमि व्यवस्था विशेष अभियान उपसमितिको जिम्मेवारी डा. गोपाल दहितलाई दिइएको छ । उक्त उपसमितिले सुकुमवासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानमा काम गर्नेछ । विपद् व्यवस्थापन उपसमितिमा मानबहादुर थापा, मानसिक स्वास्थ्य सचेतना उपसमितिमा मोहना अन्सारी तथा सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमितिमा ई. दीपेश विष्टलाई जिम्मेवारी दिइएको छ ।

यस्तै निर्वाचन प्रणाली सुधार उपसमितिमा जनक चटौत, पूर्वाधार विकास अवधारणा उपसमितिमा ई. अमृत ज्ञवाली, उद्यमशीलता, नवप्रवर्तन तथा रोजगार उपसमितिमा खगेन्द्र आचार्य र शिक्षा तथा शिक्षालय नीति उपसमितिमा डा. कृष्णप्रसाद पौडेललाई जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी, बिपी ज्ञान केन्द्र उपसमितिमा प्रकाश लामिछाने, जातीय विभेदविरुद्ध सचेतना उपसमितिमा एलिजा ढकाल, डिजिटल सचेतना तथा तथ्य जाँच उपसमितिमा प्रकृति भट्टराई र ग्रिन टेबल उपसमितिमा कञ्चन झालाई जिम्मेवारी दिइएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

प्रतिष्ठानले आन्तरिक आचारसंहिता निर्माणका लागि उपप्रमुख मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति पनि गठन गरेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय