काठमाडौँ । पूर्वीनाका काँकरभिट्टामा सशस्त्र प्रहरीको टोलीले अवैध सुन र विदेशी मुद्रासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपालको २ नम्बर हेडक्वार्टरका प्रमुख अम्बिकाप्रसाद जोशीका अनुसार भारतको कोलकाता घर भएका ३९ वर्षीय परम पाठकलाई सोमबार साँझ काँकरभिट्टा भन्सार चेकपोस्टमा जाँचका क्रममा पक्राउ गरिएको हो।
उनको साथबाट ५७० ग्राम २४ क्यारेट सुन, करिब २० हजार अमेरिकी डलर (झण्डै ३० लाख ६५ हजार रुपैयाँ) र ८५ हजार ४१९ भारतीय रुपैयाँ (करिब १ लाख ३६ हजार ६५७ रुपैयाँ) बरामद गरिएको छ।
त्यसैगरी सवारीचालक अनुमति पत्र, आधार कार्ड, मोबाइल फोन, हार्डडिस्क, सिम कार्ड, भिसा कार्ड र चेक पनि बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ र उनलाई आजै झापा जिल्ला अदालतमा पेस गरिने तयारी छ।
प्रहरीका अनुसार उनी भारतको पानीटङ्कीनाकाबाट सिटी सफारीमा नेपाल प्रवेश गर्दै गर्दा भन्सार चेकपोस्टमा गरिएको संयुक्त जाँचका क्रममा नियन्त्रणमा लिइएको हो।



















