काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आज पनि प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै साम्पाङले आफ्नो स्थानबाट उठेर प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका थिए ।
साम्पाङले प्रधानमन्त्री शाहले रक्षा र गृह मन्त्रालयसमेत सम्हालिरहेको उल्लेख गर्दै संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन उपस्थित हुनुपर्ने बताए ।
उनले सभामुखमार्फत प्रश्न गर्दै भने, “उहाँ यो संसदको सदस्य हो कि होइन? देशमा संसद छ कि छैन? लोकतन्त्र र संसदको गरिमालाई जोगाइराख्नुपर्छ कि पर्दैन?”
साम्पाङले प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी पूरा गर्न नसके मार्गप्रशस्त गर्नुपर्ने समेत बताएका छन् । उनले प्रधानमन्त्री संसद र जनताप्रति जवाफदेही हुनुपर्ने धारणा राखे ।
जेठ ४ गतेयता प्रतिनिधिसभा बैठकमा साम्पाङले निरन्तर प्लेकार्डसहित विरोध जनाउँदै आएका छन् ।



















