बिहिबार, जेठ ०७, २०८३
खेलाडी सम्मान र खेलकुद विकासमा सरकार प्रतिबद्ध : मन्त्री सस्मित पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि सरकारले सक्दो प्रयास गर्ने बताएका छन्।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिहीबार मन्त्रालयमा बिदाइ गर्दै मन्त्री पोखरेलले सीमित स्रोतसाधनका बाबजुद खेलकुद विकासलाई प्राथमिकतामा राखिने बताए।

उनले नेपाली महिला फुटबल टोलीको प्रदर्शन प्रशंसनीय रहेको उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल भएका सफलताले देशको गौरव बढाएको बताए।

मन्त्री पोखरेलले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै खेलाडीको सम्मान र खेलकुद क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहने धारणा राखे। कार्यक्रममा उनले खेलाडीहरूलाई राष्ट्रिय झण्डा र जर्सी हस्तान्तरण गरेका थिए।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले सरकारको नीतिअनुसार नेपाली फुटबलले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।

साफ महिला च्याम्पियनसिप यही जेठ ११ देखि २४ गतेसम्म भारतको मडगाउँ, गोवामा सञ्चालन हुनेछ। नेपाली टोली जेठ ८ गते भारत प्रस्थान गर्ने र प्रतियोगिता सकिएपछि जेठ २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय