काभ्रे । पछिल्ला वर्षहरूमा काभ्रेपलाञ्चोकमा बैंकिङ (चेक बाउन्स) तथा ठगीसम्बन्धी मुद्दा उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्षको १० महिनामा मात्रै यस्ता १७६ वटा मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार ती मुद्दामा २२ करोड ६७ लाख ३३ हजार ४३ रुपैयाँ बराबरको दाबी प्रस्तुत गरिएको छ । प्रहरी नायव उपरीक्षक रबिन बिष्टका अनुसार दर्ता भएका मुद्दामध्ये १२५ वटा फर्छ्योट भइसकेका छन् भने ५१ वटा मुद्दा अझै बाँकी छन् ।
महिनागत रूपमा हेर्दा साउनमा २८, भदौमा २९, असोजमा २०, कात्तिकमा २४, मंसिरमा ८, पुसमा १२, माघमा ७, फागुनमा ५, चैतमा ९, वैशाखमा २५ र जेठ ७ गतेसम्म ९ वटा मुद्दा दर्ता भएका छन् ।
चालु आवमा बैंकिङ तथा ठगी कसुरमा ३७ पुरुष र ७ महिला गरी ४४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १३८ र २०८१/८२ मा १६५ वटा यस्ता मुद्दा दर्ता भएका थिए । चालु आवमा १३२ जना फरार रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, बनेपास्थित विभिन्न सात सहकारी संस्था र तिनका सञ्चालकविरुद्ध सहकारी ठगीका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्म ६४ करोड ९५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिनासम्बन्धी सात वटा उजुरी परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विभिन्न सहकारीका अध्यक्ष, व्यवस्थापक र सञ्चालकविरुद्ध बचतकर्ताको रकम दुरुपयोग गरेको आरोपमा अनुसन्धान भइरहेको छ । केही आरोपीहरू अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका छन् भने केही अझै फरार छन् ।



















