काठमाडौँ । बुढीगण्डकी जलविद्युत आयोजनाको लागत र निर्माणबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रियसभाको ‘विकास, आर्थिक तथा सुशासन समिति’मा व्यक्त गरेको विचारप्रति नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गम्भीर असहमति जनाएका छन्।
आज जारी गरेको विज्ञप्तिमा नेता पाण्डेले अर्थमन्त्रीको अभिव्यक्तिले जनतामा निराशा फैलाउने खालको भएको भन्दै जिम्मेवार पदबाट यस्तो धारणा आउनु दुःखद भएको बताएका छन्। उनले बुढीगण्डकीलाई सामान्य जलविद्युत आयोजनासँग तुलना गरिएकोमा आपत्ति जनाएका छन्।
पाण्डेका अनुसार १,२०० मेगावाट क्षमताको जलाशययुक्त यो आयोजना निर्माणको निर्णय करिब ९ वर्षअघि नै भइसकेको छ। गोरखा र धादिङका २७ गाविसका करिब ५३ हजार रोपनी जमिन अधिग्रहण गरी ४३ अर्ब रुपैयाँभन्दा बढी मुआब्जा वितरण भइसकेको तथा विस्तृत अध्ययनमा पनि ठूलो रकम खर्च भइसकेको उनले उल्लेख गरेका छन्।




















