काभ्रे । अस्थायी प्रहरी पोस्ट काभ्रेभन्ज्याङबाट प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले धुलिखेल नगरपालिका वडा नम्बर १० र १२ क्षेत्रमा उम्रिएका गाँजाका बोट फडानी गरी नष्ट गरेको छ।
प्रहरीका अनुसार सार्वजनिक स्थान तथा व्यक्तिगत जग्गामा प्राकृतिक रूपमा उम्रिएका अन्दाजी १ हजार वटा गाँजाका बोट नियन्त्रणमा लिई नष्ट गरिएको हो। लागूऔषध नियन्त्रण तथा समाजमा लागुऔषध दुव्र्यसन न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
स्थानीयवासीको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा उम्रिएका गाँजाका बोट पहिचान गरी फडानी गरेको थियो। प्रहरीले यस्ता अवैध लागुऔषधजन्य वनस्पति खेती तथा संरक्षण नगर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ। साथै, समुदायस्तरमा सचेतना अभिवृद्धि गर्दै लागूऔषध नियन्त्रणका गतिविधिलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।



















