काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिकामा हावाहुरीका कारण ढलेको रूखले च्याप्दा दुई महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र ५० वर्षीया मनबुजी झाँक्री रहेका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार रुजुको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते मनबुजीको उपचारका लागि पोखरा लैजाँदै गर्दा ज्यान गएको हो।
प्रहरीका अनुसार दुवै जना सोमबार बेलुकी थवाङ आधारभूत अस्पतालमा बिरामी भेट्न गएका थिए। अस्पतालबाट घर फर्किने क्रममा हावाहुरीसहित वर्षा हुँदा बाटोमाथिबाट उत्तिसको रूख ढलेर उनीहरूलाई च्यापेको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थवाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको नेतृत्वमा पुगेको टोलीले घाइतेहरूको उद्धार गरेको प्रहरीले जनाएको छ।



















