काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाइँदैछ ।
सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो ।
सगरमाथा नेपालका लागि राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तरराष्ट्रिय पहिचानको महत्वपूर्ण प्रतीक मानिन्छ ।
पर्यटन विभागका अनुसार हालसम्म आठ हजारभन्दा बढी आरोहीले सगरमाथा सफलतापूर्वक आरोहण गरिसकेका छन् । विश्वका १४ अग्ला हिमालमध्ये आठ वटा नेपालमै रहेका छन् ।
नेपाल र चीनले संयुक्त रूपमा गरेको पुनःमापनअनुसार सगरमाथाको उचाइ आठ हजार ८४८ दशमलव ८६ मिटर कायम गरिएको छ । दिवसका अवसरमा हिमाली पर्यटन, सुरक्षित पर्वतारोहण, वातावरण संरक्षण तथा हिमाल स्वच्छतासम्बन्धी कार्यक्रम सञ्चालन गरिएका छन् ।
जलवायु परिवर्तनका कारण हिमाल क्षेत्रमा परेको प्रभावप्रति चिन्ता व्यक्त गर्दै सरोकारवालाले हिमाल संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । पर्वतीय पर्यटन नेपालको अर्थतन्त्र, रोजगारी र विदेशी मुद्रा आर्जनको प्रमुख आधारका रूपमा रहेको छ ।



















