काठमाडाैं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ऊर्जा क्षेत्रको विकास र उपयोगसम्बन्धी सरकारी नीतिप्रति असन्तुष्टि व्यक्त गर्दै सरकार उल्टो बाटोमा हिँडिरहेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले ५० युनिटभन्दा बढी विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारी निर्णयप्रति आपत्ति जनाएका हुन्।
“पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अब ५० युनिटभन्दा माथिको विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको छ। आखिर यस्तो अविवेकी निर्णय कसको हितमा ?” उनले लेखेका छन्।
नेपाल जलस्रोतका हिसाबले विश्वकै धनी राष्ट्रमध्ये एक भएको उल्लेख गर्दै पोखरेलले स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्ने समयमा विद्युत् उपभोक्तामाथि थप करको भार थोपर्नु उचित नभएको बताएका छन्। उनका अनुसार यस्तो कदमले नेपाली नागरिकलाई आफ्नै प्राकृतिक स्रोतको उपयोगबाट निरुत्साहित गर्नेछ।
पेट्रोलियम पदार्थको अभाव र मूल्यवृद्धिको अवस्थामा हरित ऊर्जाको प्रवर्द्धन गर्नुपर्नेमा सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई समेत निरुत्साहित हुने गरी करको भार बढाएको उनको आरोप छ।
पोखरेलले बजेटको आकार बढाउन आयस्रोत देखाउने उद्देश्यले यस्तो निर्णय गरिएको भए सरकारले तत्काल त्यसलाई सच्याउनुपर्ने बताएका छन्।
“सरकार आफैंले नाफा लिएर बिक्री गरेको विद्युत्को खपत बढ्दा भ्याट लगाएर जनताको ढाड सेक्ने होइन, आयात प्रतिस्थापन र उत्पादनशील क्षेत्रमा त्यसको अधिकतम उपयोग गर्न प्रेरित गर्नुपर्छ,” उनले उल्लेख गरेका छन्।



















