काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भ्रष्टाचार तथा बेथितिविरुद्ध दृढतापूर्वक लागिरहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद कवीन्द्र बुर्लाकोटीले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सुशासनलाई सरकारको मुख्य प्राथमिकतामा राखिएको बताए।
उनले सरकारको पहिलो वर्षलाई ‘सुशासनको वर्ष’ का रूपमा अघि बढाइएको उल्लेख गर्दै विकास निर्माणका कामलाई पनि सँगसँगै अगाडि बढाइने स्पष्ट पारे।
प्रधानमन्त्री शाहले भने, “हामीले पहिलो वर्षलाई सुशासनको वर्षका रूपमा लिएका छौँ। तर यसको अर्थ विकासका काम नगर्ने भन्ने होइन। बेथिति हटाउने र भ्रष्टाचार निर्मूल गर्ने काममा सरकार र हाम्रो पार्टी पूर्ण रूपमा प्रतिबद्ध छ।”
उनले सुशासन, पारदर्शिता र जवाफदेहितालाई बलियो बनाउँदै विकास र सुधारका कार्यक्रमलाई एकसाथ अघि बढाइने बताए।



















