बुधबार, आषाढ ०३, २०८३
विद्यार्थी कुटपिट गरेको आरोपमा हेटौँडाका शिक्षक पक्राउ

काठमाडाैं । मकवानपुरको हेटौँडास्थित एक निजी विद्यालयका शिक्षक विद्यार्थी कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–७ नागस्वतीस्थित तासिर इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा कार्यरत ४५ वर्षीय सामाजिक शिक्षाका शिक्षक अच्युत ओझालाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार गत जेठ ७ गते दिउँसो कक्षा ८ मा अध्ययनरत १२ वर्षीय एक विद्यार्थीलाई कक्षाकोठाभित्रै शिक्षक ओझाले कुटपिट गरेका थिए। घटनामा विद्यार्थीको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ।

घाइते विद्यार्थीलाई प्रारम्भिक उपचारका लागि हेटौँडा अस्पताल लगिए पनि थप उपचार आवश्यक भएपछि भरतपुरस्थित नयाँ मेडिकल कलेज, चितवनमा रेफर गरिएको थियो। अस्पतालका अनुसार बालकको स्वास्थ्य अवस्था हाल मध्यम रहेको छ।

पीडित विद्यार्थीका बुबा रामकृष्ण भुजेलले शनिबार ‘बालबालिकाविरुद्धको कसुर’ अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेका थिए। सोही आधारमा प्रहरीले शिक्षक ओझालाई शनिबार साँझ हेटौँडा–६ पुतलीबजारस्थित निवासबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका शिक्षकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय