सोमबार, जेठ १८, २०८३
मध्यपूर्व तनाव चर्किँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढ्यो

काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा सोमबार कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ। अमेरिका–इरानबीच बढ्दो तनाव र मध्यपूर्वमा युद्धको जोखिम पुनः चर्किएपछि तेल बजारमा दबाब बढेको हो।

अमेरिका र इरानबीच आक्रमण–प्रत्याक्रमणका घटनाले लगानीकर्तामा चिन्ता बढाएको छ। साथै, इजरायलले इरान समर्थित हिज्बुल्लाहविरुद्धको सैन्य अभियानमा आफ्ना सैनिकलाई लेबनानभित्र थप अघि बढ्न निर्देशन दिएपछि क्षेत्रीय अस्थिरता बढ्ने आशंकाले तेलको मूल्य उकालो लागेको छ।

ग्रिनविच समयअनुसार बिहान ४ः३६ बजे अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) कच्चा तेलको मूल्य प्रति ब्यारेल २ डलर २९ सेन्ट अर्थात् २.६२ प्रतिशतले बढेर ८९ डलर ६५ सेन्ट पुगेको थियो।

त्यसैगरी, अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य पनि २ डलर ५ सेन्ट अर्थात् २.२५ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल ९३ डलर १७ सेन्टमा पुगेको थियो।

गत शुक्रबार अमेरिकाले वासिङ्टनमा इजरायल–लेबनान शान्ति वार्ताको आयोजना गरेपछि युद्धविराम विस्तार हुने अपेक्षामा तेलको मूल्य घटेको थियो। तर, त्यसलगत्तै क्षेत्रीय तनाव पुनः बढेपछि युद्धविरामको सम्भावना कमजोर बनेको र त्यसले तेल बजारमा मूल्य वृद्धि गराएको विश्लेषण गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय