नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् भने अर्काको उद्धार गरिएको छ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार मंगलबार नदीमा पौडी खेल्न गएका दुई बालकमध्ये एक जना बेपत्ता भएका हुन्। अर्का बालकको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
प्रहरीले बेपत्ता बालकको खोजीकार्य जारी रहेको जनाएको छ। बेपत्ता भएका र उद्धार गरिएका दुवै बालकको परिचय खुल्न बाँकी रहेको प्रहरी निरीक्षक गिरीले बताए।
नदी किनारमा फेला परेको पोशाकका आधारमा उनीहरू चितवनको नारायणघाटस्थित बालकुमारी कन्या माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।



















