काठमाडौं । इरानले गएराति बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ।
रिपोर्टअनुसार बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक फ्लीटको मुख्यालय तथा एक हवाई अड्डा निशानामा परेको थियो। त्यस्तै, कुवेतमा तैनाथ अमेरिकी सैन्य बलहरूलाई लक्षित गरी इरानी ड्रोन परिचालन गरिएको बताइएको छ।
इरानी रिभोल्युसनरी गार्ड (आईआरजीसी) ले उक्त आक्रमण अमेरिकी सेनाले इरानको क्वेश्म टापुमा गरेको कारबाहीको प्रतिशोधस्वरूप गरिएको दाबी गरेको छ।
यता अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले बहराइनतर्फ प्रहार गरिएका तीन मिसाइल तथा कुवेतमा लक्षित दुई मिसाइलसहितका ड्रोन आक्रमणलाई आफ्नो प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको जनाएको छ। सेन्टकमका अनुसार आक्रमणबाट कुनै ठूलो क्षति भएको छैन।
अमेरिका र इरानबीच कूटनीतिक संवाद जारी रहे पनि दुवै पक्षबीच सैन्य तनाव भने कायमै छ। पछिल्लो आक्रमणले मध्यपूर्व क्षेत्रमा सुरक्षा चुनौती र द्विपक्षीय तनाव थप बढाएको विश्लेषण गरिएको छ।



















