काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न मुद्दामा अदालतबाट सजाय र जरिवाना तोकिएर फरार रहेका तीन प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १२ वर्षदेखि फरार अवस्थामा रहेका थिए।
प्रहरीका अनुसार जबर्जस्ती करणी मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइएका रोशी गाउँपालिका–४ का ३९ वर्षीय होमबहादुर कार्कीलाई सोमबार पक्राउ गरिएको हो। सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार कार्की फैसला भएयता १२ वर्षदेखि लुकीछिपी बस्दै आएका थिए।
त्यस्तै, लेनदेन कारोबार मुद्दामा दुई वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना तोकिएका पनौती नगरपालिका–५ का ६२ वर्षीय शालिकराम सापकोटा तथा बैंकिङ कारोबार मुद्दामा दुई वर्ष कैद र चार लाख रुपैयाँ जरिवाना फैसला भएका सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–३२ बस्दै आएका २७ वर्षीय रमेश श्रेष्ठलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धुलिखेलमा पठाइएको छ।
यसैबीच, नमोबुद्ध नगरपालिका–४ अन्तर्गत बीपी राजमार्ग क्षेत्रमा लागुपदार्थ सेवन गरिरहेको अवस्थामा सिराहाको गोलबजार नगरपालिका–२ का दुई युवालाई पनि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि लागुपदार्थ सेवनसम्बन्धी मुद्दामा १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।




















