बुधबार, जेठ २७, २०८३
प्रेस स्वतन्त्रताको पक्षमा काभ्रेका पत्रकारको धर्ना

काभ्रे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सूचना तथा विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेजी तथा नेपाल पत्रकार महासंघले अघि सारेका मागहरूको कार्यान्वयनको माग गर्दै काभ्रेका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय काभ्रे अगाडि धर्ना दिएका छन्।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आह्वानमा आयोजित धर्ना कार्यक्रममा पत्रकारहरूले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप हुन नहुने भन्दै सरकारका पछिल्ला निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

धर्नामा सहभागी पत्रकारहरूले “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक हकको रक्षा गर”, “सूचना र विज्ञापन सम्बन्धी विभेदकारी तथा स्वेच्छाचारी निर्णय खारेज गर” लगायतका नारासहित विरोध जनाएका थिए।

उनीहरूले सूचना र विज्ञापन वितरणमा देखिएको विभेदकारी अभ्यासले स्वतन्त्र पत्रकारिता र सञ्चारमाध्यमको अस्तित्वमाथि नै चुनौती सिर्जना गरेको बताएका छन्। राज्यका निकायबाट हुने कुनै पनि निर्णय संविधानको मर्म, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार हुनुपर्नेमा जोड दिँदै पत्रकारहरूले तत्काल विवादित निर्णय फिर्ता लिन माग गरेका छन्।

महासंघले अघि सारेका मागहरू सम्बोधन नभए आन्दोलनका कार्यक्रम थप सशक्त बनाइने चेतावनी समेत दिएको छ। धर्ना कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय