काठमाडौं । बीपी राजमार्गअन्तर्गत नमोबुद्ध–२ बुच्चाकोटमा भएको बस दुर्घटनाले आठ जनाको ज्यान लिएको छ। प्रहरीले सबै मृतकको सनाखत सम्पन्न गरेको जनाएको छ।
मृत्यु हुनेमा रोशी गाउँपालिका–६ का मेघबहादुर तामाङ, राजु तामाङ र इन्द्रबहादुर तामाङ रहेका छन्। इन्द्रबहादुर बसका मालिकसमेत थिए। त्यसैगरी रोशी–७ की फुलमाया तामाङ र माया लामा तथा रोशी–८ की प्यारीमाया तामाङको पनि दुर्घटनामा मृत्यु भएको छ।
यस्तै, नेपाली सेनामा कार्यरत दैलेखका बमबहादुर भण्डारी र सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ की सुमी लामाले पनि ज्यान गुमाएका छन्।
बनेपाबाट सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको थियो। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।




















