काठमाडौं । चार पटकको विश्व विजेता जर्मनीले फिफा विश्वकप २०२६ को पहिलो खेलमा डेब्युटान्ट कुरासाओलाई ७-१ ले सहजै पराजित गरेको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समूह इ को खेलमा क्यारेबियन राष्ट्र कुरासाओले विश्वकपमा डेब्यु गर्दै पूर्व च्याम्पियन विरुद्ध गोलको खाता खोल्न सफल भएपनि गोलको वर्षा भने रोक्न सकेन ।
जर्मनीले पहिलो हाफमा तीन र दोस्रो हाफमा चार गोल गरेको थियो । जर्मनीका लागि काई हाभार्ट्जले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन , डेनिज उन्डाभले एक-एक गोल गरे । कप्तान जोसुअ किम्मिचले दुई असिस्ट गरे ।
पहिलो खेलमै सहज जितपछि जर्मनीले समूह इ मा ३ अंक जोडेको छ । सन् २०१४ मा ब्राजिलमा विश्वकपको उपाधि जितेको जर्मनी त्यसपछि २०१८ र २०२२ मा भने समूह चरणबाटै बाहिरिएको थियो । यस पटक भने पहिलो खेलमै जितपछि जर्मनीले नकआउट पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।
जर्मनीले अब अर्को खेलमा आइभरीकोष्ट र कुरासाओले इक्वेडरसँग खेल्नेछ । समूह इ कै अर्को खेलमा सोमबार बिहान आइभरीकोष्ट र इक्वेडरबीच खेल हुनेछ ।




















