बुधबार, आषाढ ०३, २०८३
काभ्रे प्रशासनको उदाहरणीय कार्य, घरमै पुगेर नागरिकता प्रदान

काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका–२ निवासी सुनिता वाइबाले घरमै नागरिकता प्राप्त गरेकी छन्। क्यान्सर रोगका कारण घरबाहिर निस्कन नसक्ने अवस्थामा रहेकी वाइबालाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको टोलीले निवासमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो।

जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको अवस्थालाई मध्यनजर गर्दै घरदैलोमै सेवा प्रदान गरेको जनाएको छ। नागरिकता बनाउन प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अवस्थाका कारण सुनिता लामो समयदेखि नागरिकता विहीन थिइन्। आवश्यक प्रक्रिया पूरा गरी प्रशासनको टोली घरमै पुगेपछि उनले नागरिकता प्राप्त गरेकी हुन्।

नागरिकता पाएपछि सुनिताका श्रीमान् राम कुमार तामाङले खुशी व्यक्त गर्दै राज्यको सेवा नागरिकको घरदैलोमै पुग्नु सकारात्मक र उदाहरणीय कार्य भएको बताए। उनले बिरामी अवस्थाका कारण कार्यालयसम्म पुग्न नसक्ने परिवारलाई प्रशासनले सहजता प्रदान गरेको भन्दै सम्बन्धित निकायप्रति आभार व्यक्त गरे।

स्थानीयवासीले पनि प्रशासनको यस पहलले असहाय, अशक्त तथा गम्भीर बिरामी नागरिकलाई राहत पुगेको बताएका छन्। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले विशेष परिस्थिति तथा स्वास्थ्य समस्याका कारण कार्यालयसम्म आउन नसक्ने नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी आवश्यक सेवा घरमै पुगेर प्रदान गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ।

तस्बिरहरू: 

सिफारिस

ताजा समाचार

लोकप्रिय