मंगलबार, आषाढ ०९, २०८३
जन्मजात पूर्ण अपाङ्गता भएकी बिनितालाई घरमै पुगेर नागरिकता वितरण

काभ्रे । जन्मजात पूर्ण रूपमा अपाङ्गता भएकी पाँचखाल नगरपालिका–४ की बिनिता बोलखेलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ ।

पाँचखाल नगरपालिका–४ का वडाअध्यक्ष सुन्दर लामाको पहल तथा समन्वयमा जिल्ला प्रशासन कार्यालयको टोलीले बिनिताको निवासमै पुगेर नागरिकता प्रदान गरेको हो। शारीरिक अवस्थाका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न असहज हुने भएकाले प्रशासनले विशेष व्यवस्था गर्दै घरमै सेवा उपलब्ध गराएको जनाएको छ।

नागरिकता वितरणका लागि प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नायब सुब्बा करिस्मा लामा, सहायक कर्मचारी होम निरौला र सुदीप तामाङको टोली बिनिताको घर पुगेको थियो। टोलीले आवश्यक प्रक्रिया पूरा गरी नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको जनाएको छ ।

नागरिकता प्राप्त गरेपछि बिनिताको परिवार खुसी भएको छ। बिनिताका बुबा विष्णुप्रसाद बोलखेले वडाअध्यक्ष सुन्दर लामा तथा जिल्ला प्रशासन कार्यालयको टोलीप्रति आभार व्यक्त गर्दै नागरिकता प्राप्त गर्न सहज वातावरण बनाइदिएकोमा धन्यवाद दिएका छन् । उनले अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारी सेवा प्राप्त गर्न विभिन्न कठिनाइ हुने गरेको उल्लेख गर्दै घरमै आएर सेवा प्रदान गर्नु प्रशंसनीय कार्य भएको बताए ।

स्थानीयवासीले पनि प्रशासनले सेवाग्राहीको अवस्थालाई ध्यानमा राख्दै घरदैलोमै सेवा पुर्‍याएको कार्यलाई सकारात्मक रूपमा लिएका छन् । यस प्रकारको सेवाले अशक्त, ज्येष्ठ नागरिक तथा विशेष परिस्थितिमा रहेका नागरिकहरूलाई राज्यको सेवामा सहज पहुँच पुर्‍याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आवश्यकताको आधारमा नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय