सोमबार, आषाढ ०८, २०८३
लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा होटल व्यवसायीसँग अन्तरक्रिया

काभ्रे । सप्ताहव्यापी रूपमा मनाइँदै आएको लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, काभ्रेले होटल संघ नेपाल काभ्रेका पदाधिकारी तथा प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

जिल्ला प्रशासन कार्यालय, काभ्रेको आयोजित कार्यक्रममा लागूऔषध दुव्र्यसन तथा यसको अवैध कारोबार नियन्त्रणमा होटल तथा पर्यटन क्षेत्रको भूमिका, सचेतना अभिवृद्धि र सम्बन्धित निकायबीचको समन्वयका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, काभ्रेका प्रमुख गोपाल अधिकारीले लागूऔषधमुक्त समाज निर्माणका लागि सबै क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै होटल व्यवसायीहरूलाई आफ्नो व्यवसाय सञ्चालनका क्रममा कुनै पनि शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन आग्रह गरेका थिए ।

होटल संघ नेपाल काभ्रेका पदाधिकारी तथा प्रतिनिधिहरूले पनि लागूऔषध नियन्त्रण अभियानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आवश्यक सुझाव प्रस्तुत गरेका थिए ।

जुन २६ मा मनाइने लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवसलाई लक्षित गर्दै काभ्रेमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। जिल्ला प्रशासन कार्यालयले सप्ताहव्यापी कार्यक्रममार्फत लागूऔषध दुव्र्यसनविरुद्ध सामूहिक अभियानलाई सशक्त बनाउने उद्देश्य राखेको जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय