बुधबार, आषाढ १०, २०८३
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, आरोपी पक्राउ

काठमाडौं । गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानीय ४१ वर्षीय यमबहादुर कुमालले आफ्नी ३७ वर्षीया श्रीमती मुना कुमालमाथि दाउराको चिर्पटले प्रहार गरी कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएकी मुना कुमाल अचेत अवस्थामा पुगेकी थिइन्। घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट धनार्जेबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाएको थियो।

उपचारकै क्रममा बुधबार बिहान चिकित्सकले मुना कुमाललाई मृत घोषणा गरेका हुन्।

घटनामा संलग्न यमबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनले मदिरा सेवन गरेको अवस्थामा श्रीमतीमाथि कुटपिट गरेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय