बुधबार, आषाढ १०, २०८३
पनौतीमा उन्मत्त भैरवनाथको मुकुट (मूर्ति) प्राणप्रतिष्ठा गरी स्थानीयलाई हस्तान्तरण

काभ्रे । पनौती नेपालको पहल, बिनायक फाउन्डेसनको सम्पूर्ण व्यवस्थापन तथा सम्पदा संरक्षण महाअभियानको संयोजनमा निर्माण गरिएको ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र उन्मत्त भैरवनाथको मुकुट (मूर्ति) सोमबार एक विशेष समारोहबीच प्राणप्रतिष्ठा गरी स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ ।

वरिष्ठ मूर्तिकार रवि शाक्यद्वारा निर्मित उक्त मुकुट (मूर्ति) लाई बासुरी, धिमे तथा विभिन्न बाजागाजासहित पनौती बजार परिक्रमा गराइएको थियो। त्यसपछि उन्मत्त भैरव मन्दिर परिसरमा वैदिक विधिअनुसार बिनायक फाउन्डेसनका अध्यक्ष विद्वान गुरु र सुरेन्द्र गुरुले प्राणप्रतिष्ठा सम्पन्न गरी पनौतीवासीलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुरेश श्रेष्ठ, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बन्जारा, वडा नं. ७ का अध्यक्ष सबिन ताम्राकार, सम्पदा संरक्षण महाअभियानका संरक्षक एवं वरिष्ठ मूर्तिकार रवि शाक्य, अभियानका अध्यक्ष सुनिल प्रजापति, बिनायक फाउन्डेसनका अध्यक्ष विद्वान गुरु, नेवा: देय् दबुका निवर्तमान अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा पनौतीको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा यस्ता अभियानहरूले महत्वपूर्ण योगदान पुर्‍याउने बताएका थिए ।

पनौतीमा परापूर्वकालदेखि नै ज्येष्ठ पूर्णिमाका अवसरमा उन्मत्त भैरव, भद्रकाली र महादेवका रथ पालैपालो जुधाएर जात्रा मनाउने परम्परा रहिआएको छ। उक्त परम्परालाई जीवन्त राख्दै धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि नयाँ मुकुट (मूर्ति) स्थापना गरिएको आयोजकहरूले बताएका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय