काभ्रे । भक्तपुरको सांस्कृतिक पहिचानका रूपमा परिचित प्रख्यात जु:जु धौ अब काभ्रेको बनेपामा पनि सहज रूपमा उपलब्ध हुने भएको छ। बनेपाको चारदोबाटो नजिक रहेको अनिला प्लाजामा भक्तपुर जु:जु धौको दोस्रो शाखा सञ्चालनमा आएको हो।
नयाँ शाखाको उद्घाटन बनेपा नगरपालिका–७ का वडाध्यक्ष हिटलर शाक्यले गरेका हुन्। यो शाखा अलिसा कायस्थ र अभिलाषा कायस्थले सञ्चालनमा ल्याएका हुन्। समाजसेवी अनिला कायस्थका दुई छोरीले सञ्चालन गरेको उक्त पसल बनेपा पुरानो नगरपालिका कार्यालय अगाडि तथा चारदोबाटो नजिक अवस्थित छ।
यस शाखा सञ्चालनसँगै अब काभ्रेका उपभोक्ताले जु:जु धौको स्वाद लिन भक्तपुरसम्म पुग्नुपर्ने बाध्यता हटेको छ। आफ्नै शहरमा सहज रूपमा ताजा र गुणस्तरीय जु:जु धौ उपलब्ध हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन्।
भक्तपुरको सांस्कृतिक सम्पदाको प्रतीक मानिने जु:जु धौ परम्परागत रूपमा भैंसीको दूध प्रयोग गरी माटोको भाँडोमा जमाइन्छ। यसको बाक्लो बनावट, प्राकृतिक मिठास र मलाईदार स्वादका कारण यसलाई “राजा दही” भनेर पनि चिनिन्छ।
सञ्चालक अभिलाषा कायस्थका अनुसार स्टोरमा जु:जु धौसँगै दही, दूध, लालमोहन, रसबरी, चिज, खुवा, पनिर, पेडा लगायत विभिन्न दुग्धजन्य परिकारहरू पनि उपलब्ध छन्।
















