काभ्रे । काभ्रेको तेमाल गाउँपालिका–३ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा बस्दै आएकी २७ वर्षीया सालु गुरुङले आत्मदाह प्रयास गरेकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार गुरुङले सोमबार राति करिब २ः५० बजे आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन्।
प्रहरीका अनुसार घटनास्थलमा उनका श्रीमानले उनलाई फेला पारी तत्काल उपचारका लागि शुस्मा कोइराला मेमोरियल अस्पताल, साँखु पुर्याएका थिए। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गुरुङको अनुहार, छाती तथा दुवै हातमा गरी करिब ५० प्रतिशत भाग जलेको छ। उनी सामान्य बोल्न सक्ने अवस्थामा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए।















