काभ्रे । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) को भ्रमण गर्दै अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकासमा सरकार र विश्वविद्यालयबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
विश्वविद्यालयका पदाधिकारीसँग भएको छलफलमा मन्त्री पुनले अनुसन्धान, नवप्रवर्तन, प्रयोगात्मक विज्ञान तथा व्यावहारिक समस्या समाधानमा केन्द्रित शिक्षाले काठमाडौं विश्वविद्यालयलाई नेपालका अन्य विश्वविद्यालयभन्दा फरक र अग्रणी बनाएको बताए। उनले विज्ञान, प्रविधि र प्रयोगात्मक अनुसन्धानमार्फत राष्ट्रिय विकासमा विश्वविद्यालयले पुर्याएको योगदानको प्रशंसा गर्दै यस्ता प्रयासलाई अझ प्रभावकारी रूपमा विस्तार गर्नुपर्ने उल्लेख गरे।
विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. राजीव श्रेष्ठले काठमाडौं विश्वविद्यालयले अन्तरविषयगत अनुसन्धान, प्रविधि विकास, नवप्रवर्तन, उद्यमशीलता तथा उद्योगसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए। अनुसन्धानलाई प्रयोगशालामा मात्र सीमित नराखी समाज र राष्ट्रका आवश्यकता पूरा गर्ने व्यावहारिक प्रविधि तथा उद्यममा रूपान्तरण गर्ने लक्ष्यका साथ विश्वविद्यालय अघि बढिरहेको उनले बताए।
मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय प्रभावकारी अनुसन्धान तथा नवीन परियोजनालाई आवश्यक सहयोग गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। लामो छलफलभन्दा परिणाममुखी काम र व्यवहारमा लागू हुने नवप्रवर्तन नै देश विकासको आधार भएको उल्लेख गर्दै उनले विश्वविद्यालयलाई व्यावहारिक र प्रभावकारी परियोजना अघि सार्न आग्रह गरे।
भ्रमणका क्रममा मन्त्री पुनले काठमाडौं विश्वविद्यालय–नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (KU-NTIC), फार्मेसी विभाग, अत्याधुनिक प्रयोगशाला, कोरियाली सरकारको करिब सवा एक अर्ब रुपैयाँको सहयोगमा निर्माण गरिएको इनोभेसन सेन्टर, पञ्चकन्या समूहको सहयोगमा स्थापना गरिएको मेकर्स स्पेस (Maker’s Space) तथा इनर्जी ल्याबको अवलोकन गरेका थिए।
फार्मेसी विभागमा स्नातकोत्तर तहका विद्यार्थीसँग अन्तरक्रिया गर्दै उनले विज्ञान, अनुसन्धान र प्रविधिको प्रयोगमार्फत समाजका वास्तविक समस्या समाधान गर्न तथा नयाँ उद्यम र प्रविधि विकासमा सक्रिय हुन आग्रह गरे।
उनले अनुसन्धान तथा नवप्रवर्तन केन्द्रबाट बढीभन्दा बढी उद्यमी, प्रविधिविद् र रोजगारी सिर्जना गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याउँदै विश्वविद्यालय, उद्योग र सरकारबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। काठमाडौं विश्वविद्यालयले मन्त्री पुनको भ्रमणले विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलताका क्षेत्रमा मन्त्रालय र विश्वविद्यालयबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको जनाएको छ।











