काठमाडौं । नेपालमा पहिलोपटक शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ (VIT SHILA) साउन १८ गतेदेखि बजारमा आउने भएको छ। हिमालयन शिलाजितलाई आधुनिक ऊर्जा पेयका रूपमा विश्व बजारमा स्थापित गर्ने लक्ष्यसहित भिटसिला फुड्स एण्ड बेभरेज प्रालि. ले उक्त उत्पादनको औपचारिक शुभारम्भ गर्ने जनाएको हो।
कम्पनीका अनुसार, नेपालमै व्यावसायिक रूपमा उत्पादन हुन लागेको यो शिलाजित इन्फ्युज्ड इनर्जी ड्रिंक को वैज्ञानिक फर्मुलेसन संयुक्त अधिराज्य (यूके) मा विकास गरिएको हो। आधुनिक पेय विज्ञान र हिमालयन शिलाजितको प्राकृतिक तथा ऐतिहासिक महत्त्वलाई समेटेर तयार गरिएको यो उत्पादन विश्वकै सम्भवतः पहिलो सरकारी स्वीकृति प्राप्त शिलाजित इनर्जी ड्रिंक भएको कम्पनीको दाबी छ।
भिट सिलाको विकास सूचना प्रविधि तथा सञ्चार क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका नरेन्द्रबहादुर चन्द, साबुन उद्योगका उद्यमी विवेक सिटौला र पोल्ट्री फिड उद्योगका व्यवसायी कविन्द्र प्रसाईँ को संयुक्त लगानी र अवधारणाबाट भएको कम्पनीले जनाएको छ।
कम्पनीमा अन्तर्राष्ट्रिय साझेदारका रूपमा लन्डनस्थित डा. हाना आबद्ध छिन्। उनी VITSILA की संस्थापक तथा सह–मालिक हुनुका साथै अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन र कम्पनीको विश्वव्यापी विस्तार रणनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताइएको छ। हाल उनी CSR Accreditation को MENA क्षेत्रीय कार्यकारी निर्देशक, Northumbria University London मा लेक्चरर तथा मोड्युल लिडर, बोर्ड सदस्य र UNDP मान्यता प्राप्त SDG Impact Standards प्रशिक्षकका रूपमा कार्यरत छिन् ।
‘मेड इन नेपाल’ लाई विश्व बजारमा पुर्याउने लक्ष्य ।
कम्पनीका अनुसार ‘भिट सिला’ को लक्ष्य नेपाली बजारमा सीमित नभई यूके, अमेरिका, युरोपेली मुलुक तथा मध्यपूर्वसम्म विस्तार गर्ने रहेको छ। सोही योजनाअन्तर्गत लन्डनमा कम्पनी दर्ता भइसकेको र आगामी तीन महिनाभित्र बेलायतमै उत्पादन सुरु गर्ने तयारी भइरहेको जनाएको छ।
कम्पनीका अध्यक्ष विवेक सिटौला ले ‘भिट सिला’ केवल नयाँ ऊर्जा पेय नभई नेपालको शिलाजितलाई विश्वव्यापी ब्रान्डका रूपमा स्थापित गर्ने अभियानको सुरुवात भएको बताए। कम्पनीले आगामी दिनमा हिमालयन शिलाजितमा आधारित अन्य स्वास्थ्यवर्द्धक तथा फङ्सनल पेय पदार्थसमेत बजारमा ल्याउने योजना रहेको जनाएको छ।
रोजगारी सिर्जना, निर्यात प्रवर्द्धन तथा ‘Made in Nepal’ को पहिचानलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने दीर्घकालीन उद्देश्यसहित कम्पनी अघि बढेको संस्थापकहरूले बताएका छन्।











