सोमबार, साउन ११, २०८३
सुनसरी घटना: सीडीओदेखि डीआईजी र एसपीसम्म हेरफेर

काठमाडौं । सुनसरीमा गएराति भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रशासन र सुरक्षा संयन्त्रमा व्यापक हेरफेर गर्दै उच्च तहका अधिकारीहरूलाई जिम्मेवारीबाट हटाएको छ। घटनाको गम्भीरता र सुरक्षा व्यवस्थामाथि उठेका प्रश्नबीच मन्त्रालयले तत्काल प्रभावबाट नेतृत्व परिवर्तन गरेको हो।

गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएको छ। उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई सुनसरी पठाउने निर्णय गरिएको छ।

यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ। उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयको नेतृत्व दिइएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ। उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरीको जिम्मेवारी दिने निर्णय भएको छ।

गएरातिको घटनामा एक जनाको मृत्यु हुनुका साथै प्रहरी र प्रदर्शनकारी घाइते भएपछि सुरक्षा व्यवस्थापन र प्रशासनिक समन्वयमाथि प्रश्न उठिरहेका बेला गृह मन्त्रालयले नेतृत्व परिवर्तनको निर्णय गरेको हो।

सुरक्षा अवस्थालाई नियन्त्रणमा लिन, शान्ति–सुरक्षा कायम गर्न र घटनाको निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न सरकारले यो कदम चालेको बताइएको छ। प्रशासन र सुरक्षा नेतृत्वमा गरिएको यो व्यापक हेरफेरलाई सुनसरी घटनाप्रति सरकारको कडा प्रतिक्रिया र जवाफदेहितर्फको संकेतका रूपमा हेरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय