काभ्रे । मार्सल आर्ट्समा गुरु केवल प्रशिक्षक मात्र होइनन्, अनुशासन, आत्मविश्वास र सफलताको मार्गदर्शकका रूपमा सम्मान गरिन्छ। यही भावनालाई आत्मसात् गर्दै काभ्रेको बनेपास्थित बुडोल सेमी कभर्ड हलमा अरनिको टेकवान्डो डोजाङ र राइजिङ अप टेकवान्डो डोजाङका खेलाडीहरूले विशेष कार्यक्रम आयोजना गरी गुरु पूर्णिमा मनाएका छन्।
गुरु पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा खेलाडीहरूले आफ्ना गुरुहरूप्रति सम्मान, कृतज्ञता तथा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा मुख्य गुरु फिरोज शाक्यसहित गुरुहरू राकेश भोछिभोया, देवेन्द्र देउजा, सुरेश नकर्मी, श्यामचन्द्र खत्री र ईश्वर आचार्यलाई खेलाडीहरूले सम्मान गरेका हुन्।
कार्यक्रममा गुरुहरूको योगदानको उच्च प्रशंसा गर्दै उनीहरूले खेलकुद जीवनमा सिकाएको अनुशासन, मेहनत, आत्मविश्वास र नैतिक शिक्षाले आफूहरूलाई सफलताको मार्गमा अघि बढ्न प्रेरित गरेको खेलाडीहरूले बताएका थिए।
उक्त अवसरमा गुरुहरूले पनि खेलाडीहरूलाई खेलसँगै असल चरित्र, अनुशासन र निरन्तर मेहनतलाई जीवनको मूल मन्त्र बनाउन आग्रह गरेका थिए। गुरु र शिष्यबीचको आत्मीय सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ सम्पन्न कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।














