शुक्रबार, साउन १५, २०८३
पढाइसँगै दुग्ध व्यवसाय, ‘खुवा वाली’ नबिनाको प्रेरणादायी यात्रा

काभ्रे । वैदेशिक रोजगारीतर्फ युवाको आकर्षण बढिरहेका बेला काभ्रेको बेथानचोक गाउँपालिका–ढुङ्गखर्ककी नबिना केसी भने आफ्नै गाउँमा बसेर मेहनत, लगन र उद्यमशीलताको प्रेरणादायी उदाहरण बनेकी छन्।

स्थानीयले स्नेहपूर्वक ‘खुवा वाली’ भनेर चिन्ने नबिना पढाइलाई निरन्तरता दिँदै बुवा–आमाले सञ्चालन गर्दै आएको दुग्ध व्यवसायमा सक्रिय रूपमा साथ दिइरहेकी छन्। उनी गाउँका करिब ५०–६० जना किसानबाट दैनिक दूध संकलन गरी खुवा, नौनी, मही र घिउ उत्पादन गर्ने काममा व्यस्त रहन्छिन्।

नबिनाको सक्रियताले परिवारको व्यवसायलाई थप मजबुत बनाएको मात्र होइन, स्थानीय किसानले उत्पादन गरेको दूधको पनि सहज बजार सुनिश्चित भएको छ। गुणस्तरीय दुग्धजन्य परिकार उत्पादन गर्दै उनी स्थानीय उत्पादनलाई उपभोक्तासम्म पुर्‍याइरहेकी छन्।

पढाइसँगै व्यवसायलाई सफलतापूर्वक अघि बढाउँदै नबिनाले आफ्नै गाउँमा बसेर पनि सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिएकी छन्। उनको मेहनत, परिवारप्रतिको समर्पण र स्वदेशमै केही गर्ने दृढ इच्छाशक्तिले धेरै युवालाई प्रेरित गरिरहेको छ।

परिश्रमलाई सफलताको आधार बनाएकी नबिना केसी आज काभ्रेकी मात्र होइन, स्वदेशमै सम्भावना खोजिरहेका युवापुस्ताका लागि पनि प्रेरणादायी पात्र बनेकी छन्।

तस्विरहरु:

 

सिफारिस

ताजा समाचार

लोकप्रिय