रूपन्देही । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस–२०२६ को अवसरमा इलाका प्रहरी कार्यालय रुद्रपुर, रूपन्देहीको आयोजनामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
हरैया बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा करिब ४०० जनाको सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य आकर्षण इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङको प्रस्तुति रहेको थियो। मानव बेचबिखन अनुसन्धान क्षेत्रमा अनुभवसम्पन्न तामाङले अन्तर्राष्ट्रिय अभ्यास, मानव बेचबिखनका नयाँ प्रवृत्ति, अपराधीहरूले अपनाउने तरिका तथा सुरक्षित रहने उपायबारे जानकारी गराएका थिए ।
कार्यक्रममा वैदेशिक रोजगारी, भिजिट भिसा, अध्ययन, विवाह तथा अनलाइन रोजगारीका नाममा हुने मानव बेचबिखन र ठगीबाट सचेत रहन आग्रह गरिएको थियो। साथै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन सहभागीहरूलाई अनुरोध गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले मानव बेचबिखन नियन्त्रणका लागि सबै सरोकारवाला निकायको समन्वय आवश्यक रहेको बताउँदै सफल कार्यक्रम आयोजना गरेको भन्दै इप्रका रुद्रपुरका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङको प्रशंसा गरेका थिए।











