शनिबार, साउन १६, २०८३
‘जरिवाना होइन, जनचेतना’ – काभ्रे ट्राफिकको अभियानले दियो सकारात्मक नतिजा

काभ्रे । काभ्रेमा ट्राफिक प्रहरीले कारबाहीभन्दा जनचेतनालाई प्राथमिकता दिएपछि पछिल्ला तीन वर्षमा ट्राफिक कारबाही ७० प्रतिशतभन्दा बढीले घटेको छ। सडक दुर्घटनाको संख्या पनि क्रमशः घट्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

आर्थिक वर्ष २०८०/८१ मा ३७ हजार २ सय ५२ वटा ट्राफिक कारबाही भएकोमा आर्थिक वर्ष २०८२/८३ मा यो संख्या घटेर १० हजार ९ सय ९ मा सीमित भएको छ। राजस्व पनि २ करोड ५१ लाखबाट घटेर ९७ लाख रुपैयाँमा झरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठका अनुसार जरिवाना बढाउनेभन्दा ट्राफिक नियम पालना गर्ने संस्कार विकास गर्ने उद्देश्यले सचेतनामूलक अभियानलाई तीव्र बनाइएको हो। गत आर्थिक वर्षमा मात्रै ४ हजार ३ सय ३१ वटा सचेतनामूलक कार्यक्रममार्फत ३ लाख ४५ हजारभन्दा बढी नागरिकलाई ट्राफिक शिक्षा प्रदान गरिएको उनले बताए।

सडक दुर्घटनाको तथ्यांक पनि सुधारोन्मुख देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा १ सय ८१ दुर्घटना भएकोमा गत आर्थिक वर्षमा १ सय ३८ मा झरेको छ। यद्यपि मृत्यु र घाइतेको संख्या अझै चुनौतीकै रूपमा रहेको ट्राफिक प्रहरीको भनाइ छ।

प्रहरीले बढ्दो सवारी चाप, ओभरलोड र सीमित जनशक्तिबीच पनि सचेतना र प्रभावकारी कार्यान्वयनलाई सँगसँगै अघि बढाइने जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय