काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत चलचित्रको भिडियो वा अडियो रेकर्ड गरी सामाजिक सञ्जालमा पोस्ट नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
आइतबार विज्ञप्ति जारी गर्दै बोर्डले चलचित्रहरूको अनधिकृत रेकर्डिङ र डिजिटल पाइरेसी बढ्दै गएको उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको हो।
बोर्डका अनुसार चलचित्रघरभित्र कुनै पनि दृश्य खिच्ने, रेकर्ड गर्ने, प्रतिलिपि बनाउने, प्रसारण गर्ने वा सार्वजनिक रूपमा उपलब्ध गराउने कार्य प्रतिलिपि अधिकार ऐन, २०५९, विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानुनविपरीत हुन सक्छ।
चलचित्र निर्माण ठूलो लगानी, दीर्घकालीन परिश्रम र हजारौं चलचित्रकर्मीको सामूहिक योगदानको परिणाम भएकाले अनधिकृत रेकर्डिङ र पाइरेसीबाट निर्माता, निर्देशक, कलाकार, प्राविधिक, वितरक, प्रदर्शक तथा लगानीकर्तालाई प्रत्यक्ष आर्थिक क्षति पुग्ने बोर्डले जनाएको छ।
बोर्डले सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यममा अनधिकृत रूपमा पोस्ट गरिएका चलचित्रका क्लिप वा सामग्री तत्काल हटाउन तथा चलचित्र हलभित्र कुनै पनि प्रकारको भिडियो वा अडियो रेकर्डिङ नगर्न सबैसँग अनुरोध गरेको छ।












